
कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि स्थानीय टोल विकास समितिका प्रतिनिधिहरूसँग छलफल गरेको छ।
सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरको समग्र पूर्वाधार विकास, शिक्षा क्षेत्रको गुणात्मक सुधार, सुरक्षा व्यवस्थापन तथा योजना कार्यान्वयन प्रक्रियामा देखिएका चुनौतीका विषयमा विस्तृत छलफल भएको थियो।
छलफलका क्रममा विभिन्न टोल विकास तथा सुधार समितिका प्रतिनिधिहरूले नगरपालिकाले गरेको विकास प्रयासको प्रशंसा गर्दै आ–आफ्ना क्षेत्रका समस्या, आवश्यकता र सुझाव प्रस्तुत गरेका थिए।
प्रतिनिधिहरूले उपभोक्ताको ५०–५० प्रतिशत लागत सहभागितामा ढल तथा सडक निर्माणका काम सम्पन्न भए पनि पछिल्लो समय टोल क्षेत्रमा चोरी, डकैती तथा लुटपाटका घटना बढ्दै गएको उल्लेख गरे। उनीहरूले आगामी आर्थिक वर्षको बजेटमा निःशुल्क सडकबत्ती र सीसी क्यामेरा जडानका कार्यक्रम समावेश गर्न माग गरेका छन्। साथै, सम्पन्न भइसकेका योजनाका ठेकेदार तथा उपभोक्ता समितिको भुक्तानी प्रक्रिया समयमै टुंग्याउन पनि आग्रह गरेका छन्।
उनीहरूले टोल क्षेत्रमा रहेको करिब पाँच रोपनी सार्वजनिक जग्गालाई नगरपालिकाले विशेष प्राथमिकतामा राखी स्थानीय समितिसँग समन्वय गरेर समग्र नगरकै हित हुने दीर्घकालीन योजना बनाउन सुझाव दिएका छन्।
त्यसैगरी वडा नं. ४ का टोल विकास समितिका प्रतिनिधिहरूले योजना सम्झौतासम्बन्धी सूचना ढिलो आउने गरेको गुनासो गरेका छन्। उनीहरूका अनुसार गत शुक्रबार मात्रै सूचना प्राप्त भएको, त्यसपछि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले आवश्यक कागजात संकलन गरी निर्धारित समयभित्र बुझाउन कठिनाइ भएको थियो। बजेट निर्माण तथा योजना कार्यान्वयनका प्रक्रियामा पर्याप्त समय दिएर सूचना प्रवाह गर्न र यस विषयमा नगर नेतृत्वले स्पष्ट निर्देशन दिनुपर्ने उनीहरूको माग थियो।
सबैको सुझाव सुनेपछि नगर प्रमुख उपेन्द्र कार्कीले आगामी बजेटमा त्यसलाई समेट्ने प्रतिबद्धता जनाउँदै निर्वाचनका क्रममा व्यक्त गरिएका प्रतिबद्धता तथा नगरवासीका आवश्यकतालाई केन्द्रमा राखेर विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरिएको बताए।
उनका अनुसार खानेपानी क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको र चालु कार्यकालभित्र नगरका ९० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको उनले बताए।
शिक्षा क्षेत्रमा पनि ऐतिहासिक सुधार भएको दाबी गर्दै मेयर कार्कीले विगतमा ६५ प्रतिशत रहेको सामुदायिक विद्यालयको एसईई उत्तीर्ण दर बढेर ८४ प्रतिशत पुगेको जानकारी दिए। संस्थागत विद्यालयसहित समग्र नगरको एसईई उत्तीर्ण दर ९३ प्रतिशत पुगेको उनको भनाइ थियो।
प्राविधिक तथा बालमैत्री शिक्षालाई प्राथमिकता दिँदै बालमैत्री कक्षा सञ्चालनलाई विस्तार गरिएको पनि उनले बताए।
आगामी आर्थिक वर्षको बजेटलाई सहभागितामूलक, आवश्यकतामा आधारित र प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न पक्षसँग क्रमिक रूपमा छलफल गर्दै आएको छ।