
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा नेपाली कांग्रेका सभापति गगन थापाको उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो पैदा गरेको छ। सभापति थापा पहिलो पटक रास्वपाको औपचारिक कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन्।
पछिल्लो समय सहकारी प्रकरणलाई लिएर रास्वपा सभापति रवि लामिछाने र थापाबीच सार्वजनिक रूपमा मतभेद देखिएको अवस्थामा उनको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजनीतिक दलहरूबीच महाधिवेशन तथा विशेष कार्यक्रममा शुभकामना आदान–प्रदान गर्ने परम्परा रहे पनि यस पटक थापाको सहभागिताले थप चर्चा पाएको छ।
महाधिवेशनमा शुभकामना व्यक्त गर्न राजेन्द्र लिङदेन पनि चितवन पुगेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट समेत दोस्रो तहका नेताहरू सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।
चितवन बसाइका क्रममा थापाले रवि लामिछानेसँग भेटघाट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न सक्ने सम्भावना रहेको बताइएको छ।