
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं रास्वपाका संसदीय दलका नेता बालेन शाह तीन दिनसम्म कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन्।
प्रधानमन्त्री शाह आइतबार श्रीमती र छोरीसहित चितवन आइपुगेका हुन्। महाधिवेशनको उद्घाटन तथा बन्दसत्रमा सहभागी हुने कार्यक्रम रहेकाले उनको बसोबास हालै सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा मिलाइएको छ। गृहमन्त्री सुदन गुरुङसहितका अन्य उच्च सरकारी अधिकारी तथा नेताहरू पनि सोही रिसोर्टमा बस्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको बसाइका कारण रिसोर्ट असार ६ गतेदेखि चार दिनका लागि पूर्ण रूपमा बुक गरिएको छ। रिसोर्टका १६ वटै कोठा सरकारी टोलीका लागि आरक्षित गरिएका छन्। सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै यस अवधिमा सर्वसाधारणको प्रवेशमा समेत रोक लगाइएको छ।
प्रधानमन्त्रीको आगमनअघि नै सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। शनिबारदेखि नेपाली सेना र नेपाल प्रहरीको टोली रिसोर्ट क्षेत्रमा परिचालित गरिएको छ । प्रधानमन्त्रीसहित उच्च पदस्थ सरकारी टोलीको बसाइका कारण रिसोर्ट यतिबेला विशेष चर्चामा आएको छ।