
गोकर्णेश्वरको माकलबारीमा निर्माण भएको ‘गोल्डेन पुल’ले नगरपालिकाको पूर्वाधार विकासमा नयाँ आयाम थपेको छ।
नगरपालिकाको वडा नम्बर ४ र ८ को सिमानामा नवनिर्मित आकर्षक ‘माकलबारी गोल्डेन पुल’को एक भव्य कार्यक्रमकाबीच शनिबार साँझ नगर प्रमुख दीपक रिसालले उद्घाटन गरे। पुलमा जडान गरिएको आकर्षक लाइट बालेर प्रमुख रिसालले उद्घाटन गरेका हुन्।
नगरपालिकाको करिब ४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त पुलको उद्घाटन नगरप्रमुख रिसालले पुलमा जडान गरिएका आकर्षक बत्ती बालेर गरेका हुन्। उद्घाटन समारोहमा हजारौँ स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।
पुल उद्घाटनको अवसरमा स्थानीयवासीहरूमा उल्लेखनीय उत्साह र खुसी देखिएको थियो। नगरप्रमुख रिसालको स्वागत तथा समर्थनमा ठूलो संख्यामा स्थानीय जनसमुदाय सहभागी भएको दृश्यले कार्यक्रमलाई थप भव्य बनाएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख रिसालले स्थानीय जनताको माया, विश्वास र उत्साहले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताए। उनले यस्ता पूर्वाधार निर्माणले नगरको समग्र विकासलाई गति दिने उल्लेख गर्दै आगामी दिनमा पनि जनताको आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कार्यलाई निरन्तरता दिइने बताए।
नवनिर्मित पुल सञ्चालनमा आएसँगै माकलबारी तथा आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ। साथै, पुलमा जडान गरिएको आकर्षक प्रकाश व्यवस्थाले रातको समयमा क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाएको स्थानीयवासीहरूले बताएका छन्।
स्थानीय स्तरमा विकास र सौन्दर्य दुवै पक्षलाई समेटेर निर्माण गरिएको ‘माकलबारी गोल्डेन पुल’ गोकर्णेश्वर नगरपालिकाको नयाँ आकर्षणका रूपमा स्थापित हुने विश्वास गरिएको छ। शिक्षा र स्वास्थ्यमा विशेष जोड दिँदै आएको गोकर्णेश्वरले पूर्वाधार विकासमा पनि नयाँ आयाम थप्दै गएको छ ।