काभ्रे, असार ७ :

बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गमा आगामी असार दोस्रो सातादेखि नयाँ ट्र्याकमार्फत सवारी साधन सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सडकका केही खण्डमा ग्राभेल तहको सडक निर्माण सम्पन्न भइसकेको छ भने बर्खायाममा थप समस्या नआओस् भनेर ठूला ढुंगा (बोल्डर) राख्ने काम समेत भइरहेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार बर्खालाई लक्षित गर्दै निर्माण भइरहेको नयाँ ट्र्याकबाट असार दोस्रो सातादेखि नै सवारी साधन सञ्चालन गर्ने गरी तयारी भइरहेको छ।

“अहिले पनि चार स्थानमा माथिल्लो भागबाट सवारी साधन सञ्चालन गर्न सक्ने अवस्थामा छौं। मनसुन पूर्ण रूपमा सक्रिय नभएकाले तत्काल ट्र्याक खुला गरिएको छैन,” उनले भने, “यदि बाढीका कारण तल खोलामा बनाइएको डाइभर्सनबाट सवारी सञ्चालन गर्न नसकिने अवस्था आयो भने माथिल्लो ट्र्याकबाटै गाडी चलाउन सुरु गरिन्छ।”

उनका अनुसार चारसयबेँसी, बोक्सीकुना, कालढुंगा र डालाबेंसीका केही खण्डमा नयाँ ट्र्याक तयार भइसकेको छ। “अन्य स्थानमा पनि बाढी आएर सवारी रोकिने अवस्था नआओस् भनेर काम भइरहेको छ,” उनले भने।

हाल वर्षायाममा बाढीका कारण खोलामा बनाइएका डाइभर्सन बग्ने र त्यसपछि अस्थायी रूपमा पुनः निर्माण गरेर सवारी सञ्चालन गराउने अवस्था रहेको छ। यसले यात्रुलाई पटक–पटक सास्ती खेप्नुपर्ने स्थिति सिर्जना गर्दै आएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने खण्डहरूमा माटो भर्ने तथा बोल्डर राख्ने काम जारी रहेको जानकारी दिँदै उनले बर्खायाममा ती क्षेत्रमा खोलाबाट सवारी सञ्चालन गर्नुपर्ने बाध्यता नपर्ने बताए।

सडक डिभिजन कार्यालयले मनसुन अवधिभर बीपी राजमार्गमा सवारी आवागमनलाई निरन्तर राख्ने लक्ष्यसहित निर्माण र संरक्षणका कामलाई प्राथमिकता दिएको जनाएको छ।