ललितपुर, असार ६ :

जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लुको संक्रमणबारे समयमै जानकारी नदिएको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई पदबाट हटाइएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तुको सुरक्षा तथा सूचना प्रवाहमा संवेदनशीलता नदेखाएको भन्दै साहलाई केन्द्रीय कार्यालयमा तानेको जनाएको छ। कोषकी अध्यक्षसमेत रहेकी गीता चौधरीको निर्देशनमा उनलाई जिम्मेवारीबाट हटाइएको हो।

साहलाई हटाइएपछि चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ।

यसैबीच, चिडियाखानामा फैलिएको बर्ड फ्लुको कारण र घटनाक्रमबारे छानबिन गर्न कोषले प्रवक्ता तथा प्रजाति विभाग प्रमुख रचना शाहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री सदस्य रहेका छन्। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएको थियो। परीक्षणका क्रममा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा संक्रमण देखिएको जनाइएको छ।

कोषका अनुसार चिडियाखानामा करिब १० दिनअघिदेखि पन्छी तथा जनावर मर्ने क्रम सुरु भए पनि त्यसबारे केन्द्रीय कार्यालयलाई समयमै जानकारी गराइएको थिएन। चराचुरुंगी र जनावर मर्ने क्रम नरोकिएपछि गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

घटनाबारे विस्तृत तथ्य पत्ता लगाउन गठित छानबिन समितिले अध्ययन सुरु गरेको छ भने प्रतिवेदनका आधारमा थप निर्णय लिइने कोषले जनाएको छ।