काठमाडौं, असार ६ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी २०८३ साल मंसिर २६ देखि काठमाडौँमा हुने भएको छ। आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।

महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय समितिका सदस्य, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरू सहभागी रहनेछन्।

यस्तै विभिन्न केन्द्रीय विभागका प्रमुख, प्रदेश अध्यक्ष, सबै जिल्ला अध्यक्ष, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसद र पार्टीका सबै भातृ संगठनका अध्यक्षहरू पनि समितिका सदस्य रहने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार थप उपसमितिहरू गठन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको छ।

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकले केन्द्रीय निर्वाचन समितिबाट प्रस्तुत सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली तथा पार्टीको निर्वाचन निर्देशिका परिमार्जनसहित पारित गरेको छ।

राप्रपाले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार आगामी भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ।


बैठकले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा राप्रपाले अवलम्बन गरेको नीति, विचार र सिद्धान्तको आवश्यकता अझ बढ्दै गएको निष्कर्षसमेत निकालेको छ। पार्टीले एउटा निर्वाचनको परिणामले मात्र कुनै राजनीतिक दलको भविष्य निर्धारण नहुने उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका आफ्ना सदस्यलाई उच्च मनोबलका साथ पार्टी गतिविधिमा सक्रिय रहन आग्रह गरेको छ।