
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको छ ।
कान्सास सिटी स्टेडियममा बुधबार भएको समूह ‘जे’ को खेलमा ३८ वर्षीय लिओनल मेस्सीले ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाएका हुन् ।
मेस्सीले आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै जर्मनीका पूर्व स्ट्राइकर मीरोस्लाभ क्लोसको विश्वकप करियर गोल रेकर्ड बराबरी गरेका छन्।
यस ऐतिहासिक प्रदर्शनले एरोहेड स्टेडियममा उपस्थित हजारौं अर्जेन्टिनी समर्थकलाई अविस्मरणीय क्षण प्रदान गर्यो।
अर्जेन्टिना र अलजेरियाबीचको आज बिहान भएको खेलमा मेस्सीले पहिलो गोल खेलको सुरुआती मिनेटमै आफ्नो इन्टर मीयामी सीएफका सहकर्मी रोडिगो डे पउलको उत्कृष्ट पासमा गरे। दोस्रो गोल उनले दोस्रो हाफको सुरुवातमै थपे भने तेस्रो गोल मैदान छोड्नुअघि केही क्षण बाँकी रहँदा गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि दर्शकहरूले उभिएर ताली बजाउँदै उनको सम्मान गरेका थिए।
यो उपलब्धि मेस्सीले अर्जेन्टिनाका लागि विश्वकपमा डेब्यु गरेको ठीक २० वर्ष पुगेको दिनमा आएको हो। उनले आफ्नो पहिलो विश्वकप खेल सर्बिया र मोन्टेनेग्रो विरुद्ध खेलेका थिए र त्यस खेलमा पनि गोल गरेका थिए।
यस ह्याट्रिकसँगै मेस्सी विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने इतिहासका केवल दोस्रो खेलाडी बनेका छन्।
हाल मेस्सीले ६ वटा विश्वकप सहभागितामा १६ गोल गरेका छन्, जसले क्लोजेको विश्वकप गोल रेकर्ड बराबरी गराएको छ। आगामी खेलहरूमा उनले उक्त रेकर्ड तोड्ने सम्भावना बलियो देखिएको छ।
यो मेस्सीको व्यावसायिक करियरको ६१औँ ह्याट्रिक हो भने अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि उनको ११औँ ह्याट्रिक हो।
यो लगातार पाँचौँ विश्वकप खेल हो जसमा लिओनेल मेस्सीले गोल गर्न सफल भएका छन्।
मेस्सीको ह्याट्रिकले आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका विश्व फुटबलका अन्य दुई ठूला स्टारहरूलाई पनि ओझेलमा पारिदियो। केलियन एमबाप्पेले फ्रान्सको सेनेगल विरुद्ध ३–१ को जितमा दुई गोल गरेका थिए। यससँगै एम्बाप्पे विश्वकपमा १४ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा चौथो स्थानमा पुगेका छन्।
त्यसैगरी एरलिङ हाल्याण्डले नर्वेको इराकमाथिको ४–१ को जितमा दुई गोल गर्दै आफ्नो प्रभावशाली प्रदर्शन जारी राखे।
तर दिनको सबैभन्दा ठूलो चर्चा भने मेस्सीकै नाममा रह्यो। विश्वकप डेब्यु गरेको २० वर्ष पूरा भएको दिनमा उनले पहिलो विश्वकप ह्याट्रिक पूरा गर्नुका साथै मिरोस्लाभ क्लोजको विश्वकप गोल रेकर्ड बराबरी गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
विश्वकपअघि चोटको चिन्ता, तर मेस्सी उत्कृष्ट लयमा
अर्को साता ३९ वर्ष पुग्न लागेका मेस्सी विश्वकपअघि आफ्नो क्लब इन्टर मियामी सी एफ मा खेल्दा सामान्य ह्यामस्ट्रिङ चोटसँग जुधिरहेका थिए। यसले विश्वकपको तयारी अवधिमा उनको फिटनेसबारे केही चिन्ता बढाएको थियो।
तर विश्व फुटबलको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालुन डी ओर आठ पटक जितिसकेका मेस्सीले गत साता आइसल्याण्ड विरुद्धको अभ्यास खेलमा कुनै समस्या नदेखाएका थिए। उनले करिब २० मिनेट मात्र मैदानमा बिताउँदा पेनाल्टीमार्फत एक गोल गरेका थिए।
अल्जेरियाविरुद्धको खेल मेस्सीको अन्तर्राष्ट्रिय करियरको २००औँ खेल पनि थियो। उनले सन् २००५ मा १८ वर्षको उमेरमा अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय फुटबल यात्रा सुरु गरेका थिए।
अन्तर्राष्ट्रिय फुटबलमा २०० भन्दा बढी खेल खेल्ने खेलाडीहरू अत्यन्तै कम छन्। मेस्सीभन्दा बढी खेल खेल्ने दुई खेलाडी मात्र छन्:
यसरी मेस्सी अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा रहेका छन्। विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनले उमेर केवल एउटा संख्या मात्र भएको प्रमाणित गरिरहेको छ।