काठमाडौं, असार २ :

अमेरीकाको क्यालिफोर्निया स्थित एडवार्डस एयर फोर्स बेसबाट उडान भरेको केही क्षणमै अमेरिकी वायुसेनाको बी-५२ स्ट्रेटोफोर्ट्रेस बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई जना बोइङका कर्मचारी पनि रहेका छन्।

यो दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ११:२० बजे (१९:२० GMT) नियमित परीक्षण उडानका क्रममा भएको थियो। विमान दुर्घटनापछि ठूलो आगलागी भएको र कालो धुवाँको विशाल मुस्लो धेरै टाढासम्म देखिएको बताइएको छ।

आधार शिविरका अधिकारी कर्नेल जेम्स हेजले भने आज एडवर्ड्स एयर फोर्स बेसले एउटा भयानक दुर्घटना भोगेको छ, र हामीले आठ महान अमेरिकीहरू गुमाएका छौं।"उनका अनुसार मृतकहरूमा सैनिक, सरकारी कर्मचारी तथा सरकारी ठेकेदारहरू समावेश थिए।

प्रारम्भिक अनुसन्धानले दुर्घटनामा कोही पनि "बाँच्न असम्भव" रहेको संकेत दिएको छ। दुर्घटनामा परेकाहरूका परिवारजनलाई जानकारी गराउने प्रक्रिया जारी रहेको र त्यसपछि उनीहरूको नाम सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्।

कर्नेल हेजका अनुसार दुर्घटना एयर बेसभित्रको रनवे क्षेत्रमा मात्र सीमित रहेको थियो र हालका लागि सम्पूर्ण उडान सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

दुर्घटनाग्रस्त बी-५२ विमान एयर बेसको रडार आधुनिकीकरण कार्यक्रमलाई सहयोग गर्ने परीक्षण मिसनमा संलग्न थियो। उडान भरेलगत्तै विमान दुर्घटनाग्रस्त भएर आगो लागेको बताइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।