
काठमाडौं उपत्यकाका भूमिहीन दलित तथा सुकुमवासीले आफ्नो स्थायी पुनःस्थापनाको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
थापाथली, गैरिगाउँ, शान्तिनगर, जडिबुटी लगायतका क्षेत्रबाट हटाई कीर्तिपुरस्थित राधास्वामी सत्संग 'होल्डिङ सेन्टर' मा राखिएका पीडितहरूले संयुक्त रूपमा प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका हुन्। उनीहरुले उचित विकल्प, कानुनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन् ।
पुस्तादेखि बस्दै आएको थातथलो भत्काएर होल्डिङ सेन्टरमा ल्याएपछि आफूहरूको जीवन, रोजगारी, पशुपालन र बालबालिकाको शिक्षा खोसिएको उनीहरूको गुनासो छ । सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको पीडितहरूको गुनासो छ । समयमा उपचार नपाउँदा सेन्टरमै आश्रित भेषराज परियारले ज्यानगुमाउनु परेको जनाउँदै अन्य बिरामी बालबालिकाहरू पनि अस्पतालको आइसियुमा छटपटाइरहेको बताएका छन् ।
साथै, सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिकाहरू चरम असुरक्षाको जोखिममा परेको ज्ञापनपत्रमा उल्लेख छ। पीडितहरूले राज्यको व्यवहारप्रति गम्भीर आक्रोश पोख्दै पशुलाई जस्तो व्यवहार किन हुँदै छ ? भनी प्रश्न गरेका छन् ।