बेइजिङ, जेठ ३१ :

चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आज बिहान बेइजिङ पुगेका हुन् । उनलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

आज अपराह्न परराष्ट्रमन्त्री खनाल उनको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेको दूतावासले जनाएको छ । कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गरे । साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरे ।

यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोपेका थिए । साथै, उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए । मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।