
कागेश्वरी मनोहरा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई एकदिने कानुनी सचेतना तथा प्रशिक्षण प्रदान गरेको छ। नगरपालिकाको न्यायिक समितिको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा कान्ति भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले कानुनको पालना गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउँदै कानुन उल्लंघन गर्ने व्यक्ति दण्ड–सजायको भागीदार बन्नुपर्ने धारणा व्यक्त गरे। उनले विद्यार्थीहरूलाई कानुनबारे जानकारी राख्न, दुर्व्यसन तथा गलत संगतबाट टाढा रहन र नियमित रूपमा पठनपाठनमा केन्द्रित हुन आग्रह गरे।
मेयर कार्कीले राज्यले विद्यार्थीहरूको शिक्षा र भविष्य निर्माणका लागि ठूलो लगानी गरेको उल्लेख गर्दै त्यसअनुसार जिम्मेवार, अनुशासित तथा चरित्रवान नागरिक बन्नुपर्ने आवश्यकता औंल्याए। उनले कानुनलाई बुझेर अगाडि बढ्न सके व्यक्तिगत जीवन मात्र होइन, समाज पनि सकारात्मक दिशामा अघि बढ्ने बताए।
उनले दण्ड–सजायको व्यवस्था आफ्नो ठाउँमा रहे पनि कानुनविपरीतका गतिविधिले व्यक्ति, परिवार र समुदायमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरे। किशोरावस्था जिज्ञासा र नयाँ कुरा सिक्न चाहने उमेर भएकाले विद्यार्थीहरूले सही मार्गदर्शनसहित ज्ञान आर्जन गर्न आवश्यक रहेको उनको भनाइ थियो।
मेयर कार्कीले अध्ययन केवल शैक्षिक उपलब्धिमा सीमित नभई व्यक्तित्व विकास, चरित्र निर्माण तथा जीवनलाई गुणस्तरीय बनाउन महत्वपूर्ण हुने बताए। अनुशासन, व्यवहारिक ज्ञान र नैतिक मूल्य शिक्षाका अभिन्न अंग भएको उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई निरन्तर अध्ययन र आत्मविकासमा केन्द्रित हुन आग्रह गरे।
कार्यक्रममा नेपाल प्रहरीका प्रतिनिधिले साइबर अपराधसम्बन्धी जानकारी दिँदै इन्टरनेट तथा कम्प्युटरजन्य उपकरणको दुरुपयोगबाट हुने अपराधबारे विद्यार्थीहरूलाई सचेत गराएका थिए। साथै साइबर अपराध वा अन्य कानुनी समस्याका विषयमा उजुरी गर्न सकिने विभिन्न प्रहरी सहायता नम्बरहरूको जानकारी समेत प्रदान गरिएको थियो।
प्रशिक्षणका क्रममा विद्यार्थीहरूले कागेश्वरी मनोहरा नगरपालिकाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्किने गीत राष्ट्रगानको शैलीमा प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, विद्यालयका शिक्षक–शिक्षिका तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।
विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम ज्ञानवर्द्धक तथा प्रभावकारी बनेको आयोजकले जनाएको छ।