काठमाडौं, जेठ २८ :

अविस्मरणीय विश्वकप गीत (एन्थम) कस्तो हुनुपर्छ? एक स्मरणीय विश्वकप एन्थम के हो? के त्यो आयोजक देशहरूको संस्कृति र पहिचान झल्काउने गीत हुनुपर्छ? वा विभिन्न भाषा र संगीत शैलीहरू समेटेर विश्वव्यापी रूपमा लोकप्रिय बन्ने गीत हुनुपर्छ? अथवा सबैले सँगै गाउन सक्ने सरल र आकर्षक कोरस भएको गीत नै पर्याप्त हुन्छ?

यी सबै पक्षको आफ्नै महत्व छ।  विश्वकप गीत गाउने केही कलाकारहरू के भन्छन् त ?  कलाकारहरु साकीरा, बर्ना ब्वाय,जे बाल्बिन, वाइक्लेफ जीन तथा नोरा फतेही के भन्छन् । उनीहरुले फिफा विश्वकप २०२६ का लागि एन्थम र गीत गाएका छन् ।

शकिरा: संगीतले संस्कृतिहरूलाई जोड्छ

सन् २०२६ विश्वकपका लागि शकिरा र बर्ना ब्वायले आधिकारिक एन्थम   Dai Dai तयार गरेका छन्।

यसअघि शकिराले दक्षिण अफ्रिकामा आयोजित सन् २०१० विश्वकपको आधिकारिक गीत  वाक्का वाक्का (Waka Waka This Time for Africa) सह-लेखन र प्रस्तुति गरेकी थिइन्, जसमा फ्रेस्लीग्राउण्ड पनि सहभागी थियो।

शकिराले भनिन् "फुटबल यस्तो माध्यम हो जसले विभिन्न संस्कृति र जीवनशैलीका मानिसहरूलाई एकताबद्ध गर्छ। विश्वकप गीत बनाउने ठूलो जिम्मेवारी भनेको मानिसहरूको भावना, उत्साह र जोशलाई प्रतिनिधित्व गर्ने गीत सिर्जना गर्नु हो।"

उनले थप भनिन् "त्यस्तो गीत विश्वव्यापी हुनुपर्छ। यसले धेरै संस्कृति समेट्नुपर्छ र एउटा धुनमार्फत धेरै मानिसहरूको प्रतिनिधित्व गर्नुपर्छ। यही सोचले मलाई विगतमा यस्ता गीतहरू सिर्जना गर्न मद्दत गरेको हो।"

शकिराको विचारमा, सफल विश्वकप एन्थम केवल राम्रो संगीत मात्र होइन, विश्वभरका फुटबल समर्थकहरूको भावना, उत्साह र सांस्कृतिक विविधतालाई एकै ठाउँमा जोड्ने माध्यम पनि हो।
शकिराका अनुसार सफल विश्वकप गीतहरु सांस्कृतिक एकता र भावनात्मक सम्बन्धका कुरा मात्र होइन, शकिरासँग विश्वकप गीत कस्तो हुनुपर्छ भन्नेबारे केही स्पष्ट सांगीतिक सुझावहरू पनि छन्।

उनका अनुसार "एउटा राम्रो विश्वकप गीतमा निश्चित रूपमा लय (रिदम) हुनुपर्छ। त्यो यति आकर्षक हुनुपर्छ कि मानिसहरू नाच्न चाहून्। साथै, त्यो एउटा एन्थम पनि हुनुपर्छ, जसले सबैलाई एकै स्वरमा गाउन प्रेरित गरोस्, खुलेर चर्को स्वरमा साथ दिन मन लागोस्। त्यसमा त्यस्तो ऊर्जा हुनैपर्छ।"

उनले जोड दिँदै भनिन् "यो त अनिवार्य कुरा हो।" अर्थात्, शकिराको विचारमा एक सफल विश्वकप गीतमा आकर्षक लय, नाच्न प्रेरित गर्ने ताल, सबैले सँगै गाउन सक्ने कोरस र उच्च ऊर्जा हुनुपर्छ। यिनै गुणहरूले विश्वभरका फुटबल समर्थकहरूलाई एउटै भावनामा बाँध्न सक्छन्।

जे बाल्भिन: विश्वकप गीतमा आकर्षक "हुक" हुनुपर्छ

कोलम्बियाली गायक जे बाल्भिन सन् २०२६ फिफा विश्वकपका लागि कोका कोला (Coca-Cola) को आधिकारिक गीतका चार मुख्य कलाकारमध्ये एक हुन्। यो गीत प्रसिद्ध रक ब्यान्ड भान हालेनको चर्चित गीत जम्पको नयाँ संस्करण हो, जसमा ट्राभिस बार्कर , एम्बर मार्क र स्टेभ भाई पनि सहभागी छन्।

जे बाल्भिनका अनुसार, विश्वकप गीत मात्र होइन, कुनै पनि गीतले सुरुदेखि नै श्रोताको ध्यान आकर्षित गर्न सक्नुपर्छ।

उनले भने "आजभोलि संगीतमा, चाहे त्यो विश्वकपको गीत होस्, रेगेटन होस् वा हिप–हप, मानिसहरूको ध्यान केन्द्रित रहने समय लगभग पाँच सेकेन्ड जति मात्र हुन्छ। यही वास्तविकता हो। म यसको आलोचना गरिरहेको छैन, तर गीतलाई धेरै माया र मेहनतका साथ बनाउनुपर्छ।" विश्वकप एन्थमको विशेषताबारे बोल्दै उनले फुटबल खेलको रोमाञ्चकता र भावनालाई गीतमा पनि झल्किनुपर्ने बताए।

उनका अनुसार "फुटबलले हामीलाई एकताबद्ध गर्छ। खेलमा कहिले खुशी, कहिले निराशा, कहिले उत्साह र कहिले तनाव हुन्छ। यी सबै भावना एउटै खेलभित्र अनुभव गर्न सकिन्छ।"

त्यसैले जे बाल्भिनको विचारमा, एक उत्कृष्ट विश्वकप गीतमा खेलको जस्तै जोश, ऊर्जा, उतारचढाव र भावनात्मक शक्ति हुनुपर्छ, जसले समर्थकहरूलाई खेलकै वातावरणको अनुभूति गराउन सकोस्।

नोरा फतेहीको विचार: विश्वकप एन्थमले विजेताको भावना जगाउनुपर्छ

क्यानेडियन–मोरोक्कन गायिका तथा गीतकार नोरा फतेही सन् २०२६ फिफा विश्वकपको आधिकारिक एल्बममा समावेश गीत सीर सिर  मार्फत सहभागी भएकी छन्। यो गीत फ्रान्सेली कलाकार भेगेड्रीम र बंगलादेशी–अमेरिकी डीजे संजयसँगको सहकार्यमा तयार गरिएको हो।

विश्वकप एन्थम कस्तो हुनुपर्छ भन्ने प्रश्नमा नोरा फतेही भन्छिन् "यसमा उत्कृष्ट ताल (बीट) हुनुपर्छ, किनकि हामी नाच्न र उत्सव मनाउन यहाँ छौं।" उनका अनुसार विश्वकप गीतका मुख्य तत्वहरू लय, उत्सव र विजयी अनुभूति हुन्।