काठमाडौं, जेठ २७ :

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले युवाहरूलाई जागिरको पछि लाग्नुभन्दा व्यवसायतर्फ आकर्षित हुन आग्रह गरेका छन्। गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा प्राईम इन्स्टिच्युट अफ होटल मेनेजमेन्ट एण्ड इन्जिनियरिङ प्रा. लि. सञ्चालित १६० घण्टे बारिस्टा (कफी तथा बेकरी) तालिम समापनका क्रममा उनले संसारभर आर्थिक समृद्धिको बलियो खम्बा व्यवसाय नै रहेको उल्लेख गरे।

"यदि लोकसेवामा टप गरेर सरकारी सेवामा जान सकिन्छ भने त्यो एउटा कुरा हो, नत्र राम्रो कमाइ र स्वतन्त्रताका लागि व्यवसाय नै सबैभन्दा उत्तम विकल्प हो," नगरप्रमुख रिसालले भने, "विश्वप्रसिद्ध म्यारियट होटल चेन पनि सुरुमा एउटै होटलबाट सुरु भएको थियो। हामीले पनि सानैबाट सुरु गरेर त्यस्तै सफलता हात पार्न सक्छौं।"

व्यवसाय गर्न करोडौँको लगानी नै चाहिन्छ भन्ने भ्रम चिर्दै उनले भने, "१० करोड खर्च गरेर खोलेको ठूलो होटल र ५० हजार लगानी गरेको सानो मावा पसलको मासिक आम्दानी कहिलेकाहीँ बराबर (१ लाख रुपैयाँ) हुन सक्छ। त्यसैले ठूलो प्रोजेक्टको महत्त्वाकाङ्क्षा राख्नुभन्दा सानो कफी शप वा व्यवसायबाट सुरुवात गरेर त्यसलाई बढाउँदै लैजानु बुद्धिमानी हुन्छ।" नगरपालिकाले बजारको मागलाई हेरेर कुक र ब्यारिस्टा जस्ता तालिमहरू सञ्चालन गरेको उनको भनाइ थियो ।

सोही अवसरमा बोल्दै गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले आर्थिक वर्ष २०८२/८३ को नगरसभाबाटै 'मिशन युवा स्वरोजगार कार्यक्रम' का लागि बजेट छुट्याएर युवाहरूलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिएको बताइन्

एसईई र प्लस टुसकेर घरमा फुर्सदमा रहेका युवा भाइ-बहिनीहरू खाली बस्नु नपरोस् र उनीहरूको ऊर्जालाई सही दिशा दिन सकियोस् भन्ने उद्देश्यले १६० घण्टाको प्राविधिक तालिम प्रदान गरिएको उनले स्पष्ट पारिन्।

"हाम्रो पहिलो प्राथमिकता युवाहरूले हाम्रै देशमा स्वरोजगार बनेर देशका लागि काम गरून् भन्ने हो। तर, परिस्थितिवश यदि विदेशनै जानुपर्ने अवस्था आयो भने पनि नगरपालिकाले दिएको सीपका कारण हाम्रा युवाहरूले त्यहाँ दुःख नपाऊन्, अलपत्र नपरून् र सजिलै काम पाऊन् भन्ने हाम्रो उद्देश्य हो।"उपप्रमुख लामाले तालिम प्राप्त युवाहरू आत्मनिर्भर बनेको सुन्न पाउनु नै नगरपालिकाको सफलता भएको बताइन्।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्राईम इन्स्टिच्युट अफ होटल मेनेजमेन्ट एण्ड इन्जिनियरिङ प्रा. लि. द्वारा सञ्चालित १६० घण्टे बारिष्टा तालिम यही वैशाख ३० गतेदेखि तालिम सुरु भएको थियो। तालिमका सहभागीलाई  मेयर  रिसाल र उपमेयर लामाले प्रमाणपत्र वितरण गरेका थिए।

त्यसअवसरमा मेयर रिसालले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न र आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह गरे। उनले नगरपालिकाले युवाहरूको सीप विकास र स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

“नगरपालिकाले युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता तालिम प्रदान गरेको हो। प्रमाणपत्र मात्र लिएर नबस्नुस्, सिकेको सीपलाई व्यवहारमा प्रयोग गरी रोजगारी तथा उद्यमशीलतामा जोडिनुस्,” उनले भने। उनले बारिष्टा तालिमले कफी तथा बेकरी उत्पादनलाई व्यावसायिक र मापदण्डअनुसार तयार गर्ने ज्ञान तथा दक्षता प्रदान गर्ने भएकाले त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिए।

उपमेयर लामाले पनि तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा लागू गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरिन्। उनले सीपमूलक तालिमले युवाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

तालिममा २० जना युवायुवतीको सहभागिता रहेको थियो। गोकर्णेश्वर नगरपालिकाले युवाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

‘साँस्कृतिक धरोहरसहितको समृद्ध शहर, धार्मिक मौलिकता र विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर’ भन्ने नारालाई आत्मसात् गर्दै नगरपालिकाले युवाहरूलाई दक्ष, सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिँदै आएको छ।