काठमाडौं, जेठ २७ :

सम्पत्ति छानबिन आयोगले सार्वजनिक उच्च पदमा रहेका तथा पूर्वपदाधिकारीहरूको सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थप गरेको छ।

आयोगले २०६३ सालदेखि २०८२ चैतसम्म सार्वजनिक उच्च पदमा रहेका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, सेवानिवृत्त तथा पदबाट हटिसकेका पदाधिकारी र उनीहरूका परिवारका नाममा रहेको सम्पत्ति विवरण बुझाउन यसअघि जेठ मसान्तसम्म समय दिएको थियो। तर अपेक्षाअनुसार विवरण प्राप्त नभएपछि आयोगले म्याद थप गर्दै असार मसान्तसम्म पुर्‍याएको हो। आयोगका सदस्य तथा प्रवक्ता गणेश केसी का अनुसार आयोगले सम्पत्ति विवरण बुझाउने म्याद अन्तिम पटकका लागि असार मसान्तसम्म विस्तार गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले वैशाख २ गते  सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेका थिए। आयोगमा पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्। आयोगले वैशाख ९ गतेदेखि औपचारिक रूपमा काम गरिरहेको छ ।