काठमाडौं, जेठ २७ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी हेलिकप्टर खसालेको आरोप लगाएपछि अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको जनाएको छ।

अमेरिकी सेनाको युना२टेड स्टेट्स सेन्ट्रल कमान्डका अनुसार मंगलबार साँझ ५:०० बजे अर्थात् बेलायती समय अनुसार राति १०:०० बजे इरानविरुद्ध आक्रमण सुरु गरिएको थियो। यो कारबाही हेलिकप्टर खसालिएको घटनाको जवाफस्वरूप गरिएको बताइएको छ।

सेन्ट्रल कमाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अभियान इरानको अनुचित आक्रामकताप्रति समानुपातिक प्रतिक्रिया हो।” आक्रमणपछि पर्सियान गल्फ र स्ट्रेट अफ हर्मुज आसपासका तटीय क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताइएको छ।

खसालिएको अमेरिकी अपाचे हेलिकप्टरका दुई चालकदल सदस्यलाई अमेरिकी समुद्री ड्रोनमार्फत सुरक्षित उद्धार गरिएको सेन्ट्रल कमाण्डले जनाएको छ। यस्तो उद्धार अभियानमा उक्त प्रकारको जहाज प्रयोग गरिएको पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरिएको हो।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, “हेलिकप्टरमा रहेका दुवै पाइलट सुरक्षित छन् र उनीहरूलाई कुनै चोटपटक लागेको छैन। तर पनि यस आक्रमणको जवाफ दिनु संयुक्त राज्य अमेरिकाको आवश्यकता हो।”

अमेरिकी अधिकारीहरूका अनुसार इरानले ड्रोन प्रयोग गरेर आक्रमण गरेको थियो। तर उक्त ड्रोनले जानाजानी हेलिकप्टरलाई निशाना बनाएको थियो वा थिएन भन्ने कुरा अझै स्पष्ट नभएको एक अमेरिकी अधिकारीले बताएका छन्।

इरानी सञ्चारमाध्यमहरूले पनि घटनाबारे उल्लेख गरेका छन्।  इरानले हेलिकप्टर खसालेको जिम्मेवारी लिएको छैन ।

घटनाको केही घण्टापछि सेन्ट्रल कमाण्डले इरानभित्र आक्रमण गरिएको पुष्टि गर्दै यसलाई “इरानको अनुचित आक्रामक गतिविधि प्रतिको समानुपातिक प्रतिक्रिया” भनेको छ।