काठमाडौं, जेठ १९ :

कागेश्वरी मनोहरा नगरपालिकाले प्रजनन उमेरका महिलाहरूको स्वास्थ्य अवस्था समयमै पहिचान गरी आवश्यक उपचार सुनिश्चित गर्ने उद्देश्यले विशेष स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाको ‘उप-प्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम’ अन्तर्गत यही जेठ १३ गतेदेखि सुरु गरिएको शिविर मूलपानी नगर अस्पतालमा सञ्चालन भइरहेको छ। कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका प्रजनन उमेर समूहका महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन सक्ने नगर प्रमुख उपेन्द्र कार्कीले बताए ।

शिविरमा पाठेघरको क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक HPV/DNA परीक्षण, प्रजनन स्वास्थ्य परामर्श तथा पाठेघरको अल्ट्रासाउन्ड (USG) सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। साथै मधुमेह, उच्च रक्तचाप र मानसिक स्वास्थ्यसम्बन्धी मनोसामाजिक परामर्श सेवा पनि निःशुल्क प्रदान गरिएको छ।

महिलाहरूमा हुन सक्ने पाठेघरको क्यान्सर, स्तन क्यान्सर तथा अन्य स्वास्थ्य समस्याको समयमै पहिचान गरी रोकथाम र उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख शान्ता थापाले जानकारी दिइन् ।

नगरपालिकाले लक्षित सबै महिलाहरूलाई मूलपानी नगर अस्पतालमा उपस्थित भई निःशुल्क स्वास्थ्य शिविरको लाभ लिन आग्रह गरेको छ।