
कागेश्वरी मनोहरा नगरपालिका–४ ब्रह्मखेलस्थित थापा डाँडा मुनि रहेको एक गाईगोठमा आगलागी भएको छ। स्थानीय मधु गौतमको गाईगोठमा शनिबार अचानक आगलागी भएको हो।
आगलागी हुँदा गोठभित्र रहेका ६ वटा गाईमध्ये एउटा गाई आगोको लप्काले सामान्य घाइते भएको जनाइएको छ। गोठमा राखिएको पराल र भुससमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
शिव मन्दिर नजिकै रहेको उक्त गोठमा लागेको आगो स्थानीय बासिन्दा, सुरक्षा निकाय र नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। नगरपालिकाको दमकल तत्कालै पुगेकाले अन्य संरचना र गोठमा ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।
आगलागीको घटनापछि घरधनी मधु गौतमकी श्रीमती भगवती गौतम अचानक बेहोस भएकी थिइन्। उनलाई तत्काल उद्धार गरी नगर अस्पताल पठाइएको थियो। उपचारपछि उहाँको अवस्था सामान्य रहेको जनाइएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।