काठमाडौं, जेठ ८ :

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यू पहिलो पटक नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्नुभएको छ। दक्षिण भारतको प्रसिद्ध दक्षिणाम्नय शृङ्गेरी शारदा पीठका परम पूज्य जगद्गुरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य रूपमा स्वागत  गरिएको थियो।

विमानस्थलको विशिष्ट कक्षमा पञ्चकन्यासहित स्वस्तिवाचनद्वारा उहाँको स्वागत गरिएको थियो। स्वागत समारोहमा पञ्चेबाजा, धिमेबाजा, विभिन्न सांस्कृतिक झाँकी तथा पुष्पवृष्टि गरिएको थियो। नेपालका प्रख्यात व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीसहित विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरू स्वागतका लागि विमानस्थल पुगेका थिए।

काठमाडौं आइपुगेलगत्तै जगद्गुरुले पशुपतिनाथ मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा सहभागिता जनाउनुभयो। त्यस अवसरमा उहाँले  विशेष प्रवचनसहित उपस्थित भक्तजनलाई आशीर्वाद दिनुभयो ।

प्रवचनका क्रममा उहाँले नेपाललाई संसारकै पवित्र देशमध्ये एक भएको उल्लेख गर्दै पुराण, इतिहास तथा सनातन परम्पराले नेपालको महिमा विशेष रूपमा वर्णन गरेको बताउनुभयो। “अनादिकालदेखि नै सनातन हिन्दू धर्मलाई ठूलो भक्तिपूर्वक पालन गर्ने मानिसहरू यहाँ बसोबास गर्दै आएका छन्, र संसारका अत्यन्त पवित्र तीर्थक्षेत्रहरू नेपालमै रहेका छन्,” उहाँले भन्नुभयो।

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामी काठमाडौंमा, विमानस्थलदेखि पशुपतिनाथसम्म भव्य स्वागत
 

उहाँले नेपाली भक्तजनको श्रद्धा र भक्तिप्रति खुशी व्यक्त गर्दै भन्नुभयो, “यहाँ तपाईं सबै भक्तहरूको विशेष श्रद्धा र भक्ति देखेर हामीलाई ठूलो आनन्द मिलेको छ। हाम्रो आगमनका अवसरमा यहाँका भक्तजनले गरेको स्वागत र पछिल्ला यात्राका लागि गरिएको उत्कृष्ट व्यवस्थाबाट हामी अत्यन्त सन्तुष्ट छौं।”

 शृङ्गेरी शारदा पीठका आचार्य शंकराचार्यको नेपाल भ्रमण भएको करिब ६० वर्षपछि पुनः उक्त पीठका जगद्गुरुको नेपाल आगमन भएको हो।

महास्वामीज्यूको स्वागतका लागि वैदिक विद्वान, सन्यासी परम्पराका स्वामीहरू, नेपाल सरकारका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सरकारी अधिकारी, पशुपतिनाथका मूल भट्ट तथा भट्टज्यूहरू, भक्तजन तथा विभिन्न हिन्दू धार्मिक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

जगद्गुरुको नेपाल भ्रमण आगामी १५ गतेसम्म रहने कार्यक्रम छ। भ्रमण अवधिमा उहाँले पशुपतिनाथ मन्दिर, राम मन्दिर, बुढानीलकण्ठ मन्दिर, देवघाट, कागबेनी तथा मुक्तिनाथ मन्दिर को दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

उहाँको नेपाल भ्रमणलाई सफल बनाउन पशुपति क्षेत्र विकास कोष, नेपाल सन्त समाज, विश्व ॐकार एकता महाभियान, विश्व हिन्दू महासंघ तथा भारतीय दूतावास लगायत संस्थाहरूले समन्वय गरेका छन्।