
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गरे । सत्तापक्षका सांसदहरुले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरुमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनले बताए ।
त्यस्तै उनले ढिलो गरी संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रीत छलफलहरु छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफुहरुले ध्यानाकर्षण गराएको उनले बताए। उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा राखे ।