
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताएका छन् ।
‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले आयोगले संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने उल्लेख गरे । संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको नेता केसीको भनाइ थियो ।
“कुनै पूर्वप्रधानन्यायाधीशको अथवा राष्ट्रले चिनेको संविधानविद् र विज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस्, संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व नगरी व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्र विन्दुमा राखेर संविधानबारे राष्ट्रिय रूपमा बहस चलाउनुपर्छ”, नेता केसीले भने ।