
काठमाडौं, जेठ ३ :
‘एभरेस्ट म्यान’ को नामले सुपरिचित नेपाली पर्वतारोही कामीरिता शेर्पाले ३२औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । योसँगै उनले आफैंले बनाएको विश्व कीर्तिमान तोडेका छन्।
५६ वर्षीय शेर्पाले आज बिहान १०:१२ बजे शिखरमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानलाई अझ बलियो बनाएका छन्। यसअघि उनले २०८२ जेठ १३ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।
सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । उनले पटकपटक आफ्नै रेकर्ड तोड्दै आइरहेका छन् । उनले तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा उच्च हिमाली क्षेत्रमा आफ्नो दक्षता, धैर्य र अनुभव प्रदर्शन गर्दै आएका छन्।