काठमाडौं, चैत २४ :

राष्ट्रिय सभाका ४ वटा समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्। मनोनयनका लागि तोकिएको समयमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले ती समिति सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घीय संसद् सचिवालयले तोकेको उम्मेदवारी मनोनयन गर्ने समयमा १/१ जनाको मात्रै उम्मेदवारी परेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले समितिका सभापति र उपसभापतिमा भागबण्डा गरेका हुन् । जसअनुसार कांग्रेसले २, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले १/१ समिति सभापति पाएका छन्

कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय  निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनी जनता समाजवादी पार्टी नेपालकी सांसद हुन् ।सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद जयन्तीदेवी राई निर्वाचित भएकी छन् ।

एमालेले सभाको उपाध्यक्ष पाएको छ ।  उनले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेकी छन् ।राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १० र जनता समाजवादी पार्टी नेपालका ३ सांसद छन् ।