काठमाडौं, चैत २३ :

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै अर्को म्याद नथप्न सरकारका नाममा परमादेश जारी गरेको हो।  ओलीका तर्फबाट राधिका शाक्य र पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखकले चैत १५ गते निवेदन दर्ता गराएका थिए ।

जिल्ला अदालत, काठमाडौँले शनिबारदेखि लागू हुने गरी तेस्रो पटक आइतबार पाँच दिनको म्याद थप गरेको छ। उक्त ५ दिनको म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चले आदेश गरेको हो ।  

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै  बालेन सरकारले शपथ गरेको भोलिपल्टै दुवै जनालाई निवासबाट पक्राउ गरेको थियो । ओली पक्राउ परेको दिनदेखि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन् ।