बाढी र पहिरोले तङ्ग्रिन नपाउँदै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथले हजारौँ सवारी साधनहरुको भार थाम्नु परेको छ ।
दशैँको मेसोमा परेको बर्षा र यसबाट सडकमा पुगेको क्षति एकातिर छ भने लामो जाममा विस्तारै यात्रा गर्नुपर्दाको अर्को पीर यात्रुहरुमा थपिएको छ ।
विहीबार र शुक्रबार पृथ्वी राजमार्गको नौविसेदेखि मुग्लिन खण्ड र त्रिभुवन राजपथको नागढुंगादेखि नौबिसेसम्मको सडकमा अत्यधिक धेरै सवारी साधनको चाप बढेको छ ।
वीपी राजमार्ग पूर्णयता बन्द भएको र दशैँ अघ नचल्ने सरकारी घोषणाले यात्रुहरुले कठिन भएपनि यी दुई राजमार्गको यात्रा तय गरेका हुन ।
त्यसो त काठमाडौँ हेटौँडा जोड्ने सबै सडकहरु पहिरोले अबरुद्ध छन ।
यी सबै सडकमा गुड्ने सवारी साधन त्रिभुवन र पृथ्वी राजमार्गमा मात्रै गुड्नुपर्दा चाप ह्वात्तै बढेको हो ।
यात्रुहरुले कठिनाइ भोग्नु त छँदैछ कतिखेर यी सडकमा पनि पहिरो जाला भनेर चिन्ता लिनुपर्ने अवस्था पनि कायमै छ।
कैयौँ ठाउँमा राम्रोसँग पहिरो पन्छाउन सकिएको छैन ।
दुई तर्फ बाटो सञ्चालनमा समेत कतिपय ठाउँमा कठिन छ ।