
नेकपा एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले प्रतिनिधि सभाको बैठकमा व्यक्त गरेको विचारलाई लिएर एमालेले सचिवालयको आकस्मिक बैठक आह्वान गरेको हो ।
सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए । पार्टीका नेताहरूले नै बादलको अभिव्यक्ति एमालेको आधिकारिक नीति, सिद्धान्त र जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरीत रहेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन्।
बादलले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए । बादलले दिएको त्यस किसिमको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नै नभएको नेताहरुले बताएका छन् ।