
कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिपुर एकेडेमी र अमेरिकास्थित समिट टेक्नोलोजी एकेडेमीबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
आइतबार आयोजित एक कार्यक्रमबीच कान्तिपुर एकेडेमीका प्रमुख कबिर शर्मा र समिट टेक्नोलोजी एकेडेमीका प्रमुख जेरिमी बोनेसेनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले अन्तर्राष्ट्रियस्तरको सहकार्यले स्थानीय शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै उनले यस्ता साझेदारीले विद्यार्थीहरूलाई नवीन प्रविधि, सीप तथा अवसरसँग जोड्ने बताए।
यस्तै, कान्तिपुर एकेडेमीका प्रमुख शर्माले सहकार्यले संस्थाको शैक्षिक गुणस्तर थप सुदृढ हुने विश्वास व्यक्त गरे । साथै उनले यस सम्झौताले विद्यार्थीलाई मात्र नभई शिक्षक तथा कर्मचारीलाई समेत अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर प्राप्त हुने बताए ।
यसैगरी, समिट टेक्नोलोजीका प्रमुख बोनेसेनले नेपालसँगको साझेदारीलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै यसले विद्यार्थीलाई विश्वस्तरीय सीप र अनुभव प्रदान गर्ने बताए। उनले दुवै संस्थाबीचको साझेदारीले प्रविधि र व्यावहारिक शिक्षामा केन्द्रित कार्यक्रमहरूलाई अगाडि बढाउने विश्वास व्यक्त गरे।
सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक कार्यक्रम सञ्चालन, प्रविधिमूलक तालिम, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, र प्राविधिक सहकार्यका क्षेत्रमा संयुक्त रूपमा काम गरिने भएको छ। यस सहकार्यले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई पनि अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा अमेरिकास्थित ह्यारिसनभिल सिटीका प्रमुख माइक जारिङ, ब्रायन हेजेज, पूर्व शिक्षा मन्त्री देवीप्रसाद ओझा, शिक्षा मन्त्रालयका पूर्वसचिव जनार्दन नेपाल तथा संविधानसभा सदस्य दीपक कुइँकेल लगायतको उपस्थिति रहेको थियो।
यसअघि केही दिनअघि कागेश्वरी मनोहरा नगरपालिका र अमेरिकाको ह्यारिसनभिल सिटीबीच पनि भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। गत चैत ११ गते नगरपालिका परिसरमा आयोजित विशेष कार्यक्रमबीच कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्की र ह्यारिसनभिल सिटीका मेयर माइक जारिङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।यो भगिनी सम्बन्धले दुई नगरबीच सांस्कृतिक, शैक्षिक तथा प्राविधिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
र यो पनि…
कागेश्वरी मनोहरा नगरपालिका र अमेरिकाको ह्यारिसनभिल सिटीबीच भगिनी सम्बन्ध