काठमाडौं, चैत १६ :

सरकारले चैत १९ गते संघीय संसद्को अधिवशेन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा दुवै संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ।

यस्तै बैठकले सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको नेतृत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहने मन्त्री पोखरेलले बताए । राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सरकार अघि बढेको छ ।