काठमाडौं, चैत १३ :

अमेरिकाको ह्यारिसनभिल सिटीका मेयर माइक जारिङ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार कागेश्वरी मनोहरा नगरपालिकाभित्रका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरेको छ।

भ्रमणका क्रममा टोलीले कागेश्वरी महादेव मन्दिरको अवलोकन गर्दै गागलफेदीस्थित चिहानडाँडामा रहेको सहिदपार्क पुगेको थियो, जहाँ विश्वकै ठूलो कागको मूर्ति अवस्थित छ। त्यहाँ स्थानीय तामाङ समुदायले आफ्नो परम्पराअनुसार अतिथिहरूलाई स्वागत सत्कार गरेका थिए।

टोलीले गुम्बाको समेत अवलोकन गर्दै त्यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्य नियालेका थिए।स्थानीय सिद्धी गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा प्रस्तुति मार्फत अतिथिहरूलाई स्वागत गरेका थिए।

सो अवसरमा मेयर माइक जारिङले यहाँको कला, संस्कृति र परम्पराबाट आफू अत्यन्त प्रभावित भएको बताए। भ्रमणमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की पनि सहभागी थिए। टोलीले स्थानीय रूपमा उत्पादन गरिएको परम्परागत मदिरा (लोकल रक्सी) को स्वाद चाखेका थिए ।

अमेरिकी मेयरको उक्त टोली केही दिनअघि नेपाल आएको हो। यसैक्रममा गत बुधबार कागेश्वरी मनोहरा नगरपालिका र ह्यारिसनभिल सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

नगरपालिका परिसरमा आयोजित विशेष कार्यक्रममा कागेश्वरी मनोहराको तर्फबाट मेयर उपेन्द्र कार्की र ह्यारिसनभिल सिटीको तर्फबाट मेयर माइक जारिङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झदारीसँगै दुई नगरबीच सांस्कृतिक, शैक्षिक तथा पर्यटन क्षेत्रको विकासमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।