काठमाडौं, चैत १० :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेसहितको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिट बिहीबारलाई पेसी तोकिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ जारी रहेको छ । मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । बिहीबार महान्यायाधीवक्ता भण्डारी बरालले  बहस गर्ने छिन् भने उनीपछि सरकारी वकिलहरुले प्रतिरक्षा बहस गर्ने छन् ।

रिट निवेदकतर्फको बहस सकिएको छ । सोमबार र मंगलबार भएको बहसमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, अधिवक्ताहरु टिका कुँवर,उपेन्द्र राउत र अनुपम भट्टराईले बहस गरेको  सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।