काठमाडौं, चैत ४ :

सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको शपथग्रहण चैत १३ गतेभित्र गराउने आन्तरिक तयारी गरेको छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ। उक्त प्रतिवेदन बुझाइएपछि केही दिनभित्रै सांसदहरूको शपथग्रहण गराउने योजना सचिवालयले बनाएको हो।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगले प्रतिवेदन बुझाएको पाँचदेखि छ दिनभित्र नवनिर्वाचित सांसदहरूको शपथग्रहण गराउने तयारी गरिएको छ। आयोगले चैत ५ गते कार्यालय समयभित्र प्रतिवेदन बुझाए सोही दिन सूचना प्रकाशित गरी शपथग्रहणको मिति तोकिने सचिवालयको तयारी छ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणअघि भने ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ। ज्येष्ठ सदस्यले शपथ लिएपछि मात्रै अन्य सदस्यहरूको शपथग्रहण गराइने प्रवक्ता गिरीले स्पष्ट गरे।

नेपालको संविधान २०७२ को धारा ९१ (५) अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त रहेको अवस्थामा सभाको बैठकमा उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था छ। संवैधानिक कानुनका जानकारहरूले सांसदहरूको शपथग्रहणपछि मात्रै प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन्।

यसैबीच,आयोगले  चैत ५ गते नै समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।