
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार गठन भएलगत्तै त्यसलाई ढाल्न खोज्ने समूह सक्रिय हुने गरेको बताएका छन्। निर्वाचित उम्मेदवारहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फाटो ल्याउन विभिन्न प्रयास भइरहेको दाबी गरे।
सभापति लामिछानेले पार्टीभित्र एकता कायम राख्न सबैलाई आग्रह गर्दै भने, “हामी मिल्न सकेनौं भने र स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या हुन्छ।”
उनले अन्य दलहरूबाट रास्वपामा आएका निर्वाचित प्रतिनिधिहरूलाई पुराना दलहरूसँग दूरी कायम राख्न पनि सुझाव दिए। साथै, जथाभावी अभिव्यक्ति दिने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे।
“प्रत्येक मतको इज्जत हुनुपर्छ,” उनले भने, “निर्वाचित भएपछि सबैको भूमिका फेरिन्छ। मत दिएका जनतालाई प्रभावित हुने गरी काम गर्नुपर्छ।”
लामिछानेले अभिव्यक्ति दिँदा सचेत र जिम्मेवार हुन आग्रह गर्दै जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निभाउनुपर्ने बताए।
त्यस्तै, उनले सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन पनि निर्वाचितहरूलाई सुझाव दिए। जनप्रतिनिधिहरूले कानुनी प्रक्रियाबारे पनि राम्रो जानकारी राख्नुपर्ने बताउँदै उनले भने, “कुन धाराले कहाँ के काम अड्किएको छ भनेर थाहा पाउनुपर्छ। कहाँ कसलाई भनेर हुन्छ भनेर दौडधुप नगर्नुहोला।”
उनले जनताले कुनै बहाना गर्न नपाउने गरी आफूहरूलाई जिताएर पठाएको उल्लेख गर्दै जिम्मेवारीप्रति सचेत रहन आग्रह गरे।
कार्यक्रममा बोल्दै लामिछानेले पार्टीको विगतबारे पनि चर्चा गरे। उनका अनुसार पार्टी स्थापना भएदेखि नै विभिन्न चुनौती र प्रहारको सामना गर्नुपरेको थियो।
“पार्टी जन्मेदेखि यसमा प्रहार भयो। पार्टीको नाममा मुद्दा चल्यो। चुनाव चिन्हमा पनि मुद्दा भयो। विभिन्न स्वार्थ समूह र पुराना दलबाट पार्टी जोगाएर ल्यायौं,” उनले भने, “देशका सबै शक्ति एकै ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं।”
उनले केहीले जनताको चेतनामा प्रश्न उठाउने गरेको उल्लेख गर्दै त्यो धारणा गलत भएको बताए। अघिल्लो चुनावमा जनताले पुराना दललाई सच्चिने अवसर दिन र नयाँ दल अहंकारी नबनोस् भनेर आफूहरूलाई मत दिएको उनको भनाइ थियो।
लामिछानेले पार्टीमा अनुशासन कायम गर्न कडाइ गरिने र आवश्यक परे कारबाही पनि गरिने बताए। साथै, पार्टीभित्र ‘राइट टु रिकॉल’ को व्यवस्था समेत लागू गरिने जानकारी दिए।
“देश अहिले पनि बनेन भने कहिल्यै पनि बन्दैन भनेर सबैले भनेका छन्,” उनले भने, “मतदाताले हामीलाई ‘बाबु, यो देश बचाउ’ भनेका छन्। यो कति ठूलो र गहिरो कुरा हो।”उनले जनताको अपेक्षाअनुसार काम गरेर देशलाई सही दिशामा अघि बढाउन सबैलाई आह्वान गरे।