
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सरकारको नेतृत्व लिने तयारी गर्दैगर्दा प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना विश्वासपात्रहरुलाई महत्वपूर्ण पदमा नियुक्ति र सिफारिस गरेकी छन् । जेनजी आन्दोलनको बलमा बसेको कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर पाएको वावाइ पनि माटोमा मिलाएकी छन् ।
विगतका सरकारले जस्तै जाँदाजाँदै आफ्नालाई नियुक्ति गर्न सिफारिस गर्नुले उनी अघिल्ला दलहरुको सरकारभन्दा खासै फरक देखिनन् ।कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गरेकी छिन्।
प्रधानमन्त्री एवम् कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन् ।यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो ।
विवादित पृष्ठभूमिका श्रेष्ठलाई कार्कीले आलोचनाकैबीच स्वकीय सचिवको जिम्मेवारी दिएकी थिइन्। तिनै श्रेष्ठले आफूसँग श्रीमतीलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गराएका थिए।
आइतबारको मन्त्रिरिषद बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सरकारको तर्फबाट सिफारिस गरेको छ। प्रधानमन्त्रीले नियुक्त गर्न पाउने मध्ये एक सिटमा अर्याललाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्। निर्वाचन आयोगले राष्ट्रपति समक्ष चुनावको प्रतिवेदन बुझाए लगत्तै प्रधानमन्त्री कार्कीले राजीनामा दिने तयारी गरेकी छिन्।