
काठमाडौं, फागुन ३० :
नेकपा एमालेले पार्टीले गरेका काम जनतामाझ पुर्याउन नसक्दा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । शनिबार अध्यक्ष केपी ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
पार्टी र नेतृत्वप्रति विभिन्न किसिमका आरोप र आलोचना हुँदै एउटा प्रकारको भाष्य निर्माण भएको र उक्त भाष्यलाई तथ्यका आधारमा जनतामाझ स्पष्ट पार्न नसक्दा एमालेविरुद्ध जनमत गएको ठहर गरिएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव लेखराज भट्टले भने, 'भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल हुन गयो ।'
हालै सम्पन्न निर्वाचनमा एमाले तस्रो स्थानमा रहेको छ । पार्टी अध्यक्ष ओलीसहित सबै पदाधिकारी निर्वाचनमा पराजित भएका थिए ।