
प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नेपाली जनता, संविधान र राष्ट्रको जित भएको बताएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले विशेष अवस्थामा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु ठूलो उपलब्धि भएको र नेपाली जनता, संविधान र राष्ट्रको जित भएको बताइन् ।
निर्वाचन सम्पन्न गरेर शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिन सकेको उनले बताइन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न योगदान गर्नेप्रति आभार प्रकट समेत गरिन्।
लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा नभइ नागरिकको आत्मसम्मानको प्रतीक भएको उनले बताइन् । उनले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी हुँदैन भन्ने कुरा निर्वाचित जनप्रतिनिधिहरुले हेक्का राख्नुपर्ने धारणा व्यक्त गरिन् ।कानुनी रूपमा जनादेशको अवधि पाँच वर्षको भए पनि यसको नैतिक वैधता प्रत्येक क्षणमा जनताको विश्वासबाट पुनः अनुमोदित हुँदै जानुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको र पछिल्ला दशकमा राज्यका विभिन्न संरचनामा महिला सहभागिता उल्लेखनीय रूपमा बढेको उल्लेख गरिन् । अझै पनि महिलाहरू विभेद, असमान अवसर, लैङ्गिक हिंसा र संस्कृतिजन्य असमानताबाट मुक्त हुन नसकेकाले महिलाहरू अधिकारका लागि अझ दृढताका साथ अघि बढ्नुपर्ने उनले बताइन् । उनले महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्न सके मात्रै लोकतन्त्र सुदृढ हुने समेत बताइन् ।