
प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले पवित्र रमजानका अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गरिन् । संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी भएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव नबढाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादका माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन्। पश्चिम एसियाको परिस्थिति यथाशीघ्र सामान्य अवस्थामा फर्कने विश्वास उनले व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकामा र त्यहाँ रहेका नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ‘ट्रान्जिट’मा रहेका मानिसको समान रूपमा हेरविचार गरेकामा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गरिन् ।
प्रधानमन्त्रीले यही फागुन १७ गते जायद अन्तरराष्ट्रिय विमानस्थलमा सेवाप्रवाहका क्रममा एक नेपाली नागरिकले जीवन गुमाएको जानकारी प्राप्त हुँदा आफूलाई दुःख लागेको बताइन् । साथै फागुन २१ गते अबुधाबीको आइसिएडी क्षेत्रमा दुई जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवद्र्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासमा युएईले राष्ट्रपति शेख मोहमद बिनको कुशल नेतृत्वमा भएका कामको प्रशंसा गरिन् ।
आगामी वर्षमा आर्थिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै द्विपक्षीय सम्बन्ध विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उनले व्यक्त गरिेन् । उनले राष्ट्रपति, युएई सरकार र त्यहाँका जनतालाई त्यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिन् ।
प्रधानमन्त्रीले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्ततः नयाँ कूटनीतिका लागि स्थान उपलब्ध गराउने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताइन् ।
उनले तत्कालका लागि नेपाली नागरिकको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा सङ्कुचन र बढ्दो मुद्रास्फीतिसहित व्यापक आर्थिक दबाबको सामना गरिरहनुपरेको बताइन् । ‘ट्रान्जिट’मा रहेका यात्रु विस्तारै नेपाल वा तेस्रो देशमा आ–आफ्ना गन्तव्यमा सुरक्षित रूपमा प्रस्थान गर्नसक्नेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरिन् ।
युएईका राष्ट्रपतिले विषम परिस्थितिमा नेपालले एक असल मित्रका रुपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईकोतर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे ।
उनले काममा खटिएका बेला एक जना नेपालीले ज्यान गएकामा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे । उनले नेपाल र युएईबीचको सुमधुर सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीको मेहनत र असल आचरणको प्रशंसा गरे।
युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेका बताए । साथै उनले नेपालीको सुरक्षाका लागि हरसम्भव प्रयत्न गर्न आफू तत्पर रहेको बताए ।
केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै युएईका राष्ट्रपतिले परिस्थिति सहज भएपछि सबै किसिमको सहयोग उपलब्ध गराइने उल्लेख गरे ।