बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

देवघाटमा देखियो घडियाल गोही

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
देवघाटमा देखियो घडियाल गोही
चितवन, फागुन २० :

गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिए । मलामी गएका धेरैले गोही देखेका उनको भनाइ छ ।

पत्रकार पौडेलले केहीदिन अघि स्थानीय बोटेले नदी बगरमा गोही देखेको बताउनुभयो । “चितवन राष्ट्रिय निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत स्वर्गीय वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा देवघाट नजिकको नारायणी र कालीगण्डकी किनार घडियाल गोहीका लागि उपयुक्त बासस्थान रहेको बताउनुभएको थियो । प्रदुषण बढ्दै गएपछि यो क्षेत्रमा घडियाल गोही देख्न छाडिएको उहाँले बताउनुहुन्थ्यो”, उनले भने । 

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनास थापा मगरले घडियाल गोही बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणीका रूपमा रहेको बताए । नदी र खोलामा भएको प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीले घडियाल हराउँदै गएका उनको बुझाइ छ ।

स्थानीय बोटे समुदायका अनुसार देवघाट र वरपरको क्षेत्रमा करिब ३५ वर्षयतादेखि घडियाल गोही देखिन छोडेको थियो । निकुञ्जका सूचना अधिकारी मगरले भने, “यहाँका ज्येष्ठ नागरिकका भनाइअनुसार झण्डै ३५ वर्षयतादेखि देवघाट क्षेत्रमा घडियाल देखिएको थिएन । अहिले देखिएको गोही यहाँको रैथाने हो वा अन्यत्रबाट आएको हो अध्ययन गर्नुपर्ने छ ।”

घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन केन्द्र रहेको छ । जहाँ राप्ती र नारायणी नदी किनारमा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरी यहाँ ल्याएर बच्चा हुर्काउने गरिन्छ । हुर्किएका बच्चालाई पुनः नदीहरूमा छाड्ने गरिएको छ । विगतमा कालीगण्डकीमा समेत हुर्किएका घडियाल गोही छाडिँदै आउने भए पनि संरक्षण हुन नसकेपछि निकुञ्ज आसपासका राप्ती र नारायणी नदीमा मात्रै छोड्ने गरिएको थापा मगरले बताए ।  

पछिल्लो पटक गत पुसमा सार्वजनिक भएको गणना अनुसार राप्तीमा २३१ र नारायणीमा १३५ घडियाल गोही फेला परेका छन् । देवघाट क्षेत्रमा गोही नदेखिने भएकाले पछिल्ला वर्षहरूमा गणना हुन छाडेको मगरले बताए । देवघाटमा गोही देखिनुलाई महत्वका साथ हेरिएको भन्दै उनले यसबारे थप अध्ययन गरिने जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार