काठमाडौं, फागुन १० :

लिची बगैँचा घुस प्रकरणमा मुछिएकी नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रन्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। उक्त मुद्दामा बहस हुँदा श्रेष्ठ विशेष अदालतमा उपस्थित भएकी थिइन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गुप्ता र पूर्व भूमि व्यवस्थामन्त्री श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो। मालपोत अधिकृतको सरुवा थमौतीमा ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ घुस लेनदेन भएको अख्तियारको दाबी छ।

कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतीका लागि बिचौलियासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो।