काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको छ ।
कार्यालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षको माघ महिनासम्म भएका ४ हजार ३ वटा दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको हो । दुर्घटनामध्ये सवै भन्दा बढि दुर्घटनामा चालकको लापरवाही देखिएको काठमाडौँ उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई बढाइएको बताए। आफूहरुको ध्यान राजस्व संकलन गर्ने नभइ जीवन रक्षामा केन्द्रित रहेको उनको भनाइ छ ।
उनले सवारी चोरी भएका घटनापनि वृद्धि भएकाले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी सुरक्षाका उपायहरु अपनाउन पनि आग्रह गरे ।
सो क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०८०-०८१ मा ४१७ ओटा र ०८१-०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।