
काठमाडौं, फागुन ५ :
पैदलयात्रीलाई मुक्का हान्ने कारचालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। कुटपिट गर्ने व्यक्ति वैतडी घर भई हाल बालुवाटार बस्ने ४२ वर्षीय पारस बम रहेको र उनलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको आधारमा प्रहरीले मुक्का हान्ने बमलाई नियन्त्रणमा लिएको हो । चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए ।
कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको थियो। भिडियोमा ती व्यक्तिले कारबाट झरेर वृद्ध जस्तो देखिने व्यक्तिलाई मुक्का हानीहाल्छन् । त्यसपछि अर्की एक महिला आएर पनि ती पैदलयात्रीलाई गाली गरेको भिडियोमा सुनिन्छ।