उदयपुर, माघ १९ :

उदयपुरको लेखानीमा रहेको चन्द्रावती माध्यमिक विद्यालयलाई पर्शुराम-शकुन्तला स्मृति प्रोत्साहन पुरस्कार अन्तर्गत ताम्रपत्रसहित ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। हालै आयोजित एक कार्यक्रमकाबीच विद्यालयका गरिब तथा जेहेन्दार ९ जना विद्यार्थीलाई पनि  प्रतिविद्यार्थी ५ हजार रुपैयाँ नगदसहित प्रतिभा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। 

उक्त पुरस्कार प्रत्येक वर्ष चन्द्रावती माध्यमिक विद्यालयमा अध्ययन गरी गएका पूर्व विद्यार्थीहरूको सहयोगमा प्रदान हुँदै आएको हो। विद्यालयको शैक्षिक प्रगति र विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा कटारी नगरपालिका–२४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर मगर, शिक्षाविद् तथा वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल, संविधानविद् काशीराज दाहाल र भूगर्भविद् प्रा.डा. कुमुदराज काफ्लेले गुणस्तरीय शिक्षामा जोड दिँदै विद्यालय र क्षेत्रको विकासका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रममा पूर्व प्रशासक श्याम दाहाल, पूर्व प्रधानाध्यापक कृष्णप्रसाद दाहाल, पूर्व विद्यालय अध्यक्ष अमृतबहादुर जोशी तथा शिक्षक छात्रबहादुर मगरले मन्तव्य व्यक्त गरेका थिए। विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर मगरले विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिबारे जानकारी गराएका थिए।

प्रतिष्ठानका कोषाध्यक्ष केशव दाहालले नगद पुरस्कार प्रदान गरेका थिए भने ताम्रपत्र संविधानविद् काशीराज दाहालले हस्तान्तरण गरेका थिए। सोही अवसरमा पर्शुराम–शकुन्तला स्मृति ग्रन्थको स्मृतिका संस्करण सार्वजनिक गरिएको थियो, जसको समीक्षा वरिष्ठ साहित्यकार रामप्रसाद दाहालले गरेका थिए।

यसैगरी बद्री दाहाल, अनिता दाहाल, श्याम दाहाल, कृष्ण दाहाल तथा लेखानी दाहाल समाजद्वारा ९ जनालाई पुरस्कार प्रदान गरिएको थियो भने शिक्षाविद् डा. रामप्रसाद दाहाल, संविधानविद् काशीराज दाहाल, समाजसेवी केशव दाहाल, कृष्ण दाहाल, श्याम दाहाल र कुमुद काफ्लेलाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले देशप्रेमले ओतप्रोत नृत्य तथा गीत प्रस्तुत गरी कार्यक्रमलाई थप रौनक प्रदान गरेका थिए।