आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध #सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध
समाचार

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

· सोमबार, १९ माघ, २०८२ मा प्रकाशित
ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र
बाँके, माघ १९ :

ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् ।

निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन् । ठेकेदारले काम नगरे पनि स्थानीय तहले म्याद थप्दै जाने प्रवृत्तिले प्रशासनिक भवन झनै अलपत्र परेका हुन् ।

यहाँको कोहलपुर नगरपालिकाले विसं २०७९ असारमा २०८१ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी रु १५ करोड ३८ लाखमा भवन निर्माण गर्ने जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो । तर उक्त म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन ।

ठेकेदारले दिएको निवेदनअनुसार म्याद थप गरे पनि सन्तोषजनक रूपमा काम अगाडि बढ्न नसकेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बताए ।

विसं २०७९ मा निर्माण पूरा गर्नुपर्ने जानकी गाउँपालिकाको प्रशासनिक भवन पनि उस्तै छ । पाँच वर्षअघि रु चार करोड २२ लाख ८४ हजार ७१० लागतमा निर्माण सुरु भएकामा हालसम्म भौतिक प्रगति ८० प्रतिशत मात्र पूरा भएको छ ।

नरैनापुर गाउँपालिकाको नयाँ प्रशासनिक भवन अझै गाउँपालिकाले प्रयोग गर्न सकेको छैन । विसं २०७९ असोज ३१ गते महालक्ष्मी–जुगल बिल्डर्स जेभीले निर्माण सम्झौता गरेको भवन निर्माणका लागि रु छ करोड ८० लाख ३१ हजारमा ठेक्का सम्झौता गरेको थियो । समयमै काम सम्पन्न नभएपछि पालिकाले भवन निर्माणका लागि पटकपटक म्याद थपेको थियो । भवन निर्माण सम्पन्न नहुँदा जनतालाई सेवा प्रवाहमा असुविधा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए ।

बाँकेकै खजुरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण नसकिँदै निर्माणाधीन भवनबाटै सेवा सुरु गरेको छ । खजुरा गाउँपालिका–३ बीगाउँस्थित निर्माणाधीन प्रशासनिक भवनबाटै सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।

उनका अनुसार प्रशासनिक भवनको अधिकांश संरचना निर्माण सकिएको र थोरै काम मात्र बाँकी छ । विद्युत्, वाइरिङ, पानी निकास जस्ता प्राविधिक संरचना जडान भइरहेको छ । रु पाँच करोड ३६ लाख चार हजार ८१५ लागतमा एम के जुगल जेभीले भवन निर्माण गरिरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार