
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँग प्रष्टीकरण माग गर्ने तयारी गरेको छ। घृणाजन्य अभिव्यक्ति दिएको भन्दै परेको उजुरीका आधारमा आयोगले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।
केही दिनअघि सामाजिक सञ्जालमार्फत साहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका थिए। उनले ओलीलाई ‘देश जलाउने’, ‘७६ बालबालिकाको हत्या गर्ने आतंकवादी’ भन्दै सार्वजनिक बहसमा सहभागी हुन अस्वीकार गरेका थिए।
सामाजिक सञ्जालमा लेख्दै बालेनले भनेका थिए, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता–कता छन्, तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? त्योपछि अरू कुरा गरौँला। ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’
यसअघि ओलीले भने भावी सरकारको नेतृत्व गर्न चाहने नेताहरूबीच आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका थिए। उजुरी परेपछि निर्वाचन आयोगले घटनाको अध्ययन गर्दै आचारसंहिता उल्लंघन भएको निष्कर्ष निकाल्ने प्रक्रिया अघि बढाएको जनाएको छ। आयोगका अनुसार हालसम्म आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न उम्मेदवार तथा निकाय गरी ८ जनासँग प्रष्टीकरण मागिसकिएको छ।