
समलिङ्गी विवाह दर्ता गरेर दक्षिण एसियाकै पहिलो जोडी बनेका समलिङ्गी सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।समावेशी समाजवादी पार्टीमा आबद्ध भएका सुरेन्द्रले आज काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका हुन् । उनले विवाह दर्ताको प्रमाणपत्र पेस गरी उम्मेदवार दर्ता शुल्कमा ५० प्रतिशत छुटसमेत पाए।
दुई वर्षअघि कावासोती नगरपालिका–८, नवलपरासी पूर्वका सुरेन्द्र र दोर्दी गाउँपालिका–२ लमजुङका रामबहादुर गुरुङ (माया)ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट कानुनी रूपमा विवाह गर्ने दक्षिण एसियाकै पहिलो जोडी बनेको थियो ।
समलिङ्गी र लैङ्गिक अल्पसङ्ख्यकको पक्षमा निरन्तर अभियान चलाउँदै आएका सुरेन्द्रले रूपान्तरणको लागि राजनीतिमा होमिनुबाहेकको विकल्प नदेखेको बताए ।‘चुनौती भरिएको समाजमा उम्मेदवारी गर्दा गर्ने आँट गर्नु पनि आफैँमा जित हो । अब जनताको मन जित्नु छ, फरक काम गरेर देखाउनुछ ।’
समावेशी समाजवादी पार्टीबाट देशभर समलिङ्गी र तेस्रो लिङ्गी गरी ६ जनाले उम्मेदवार दर्ता गरेका छन् । जसमा सुरेन्द्र, काठमाडौं, क्षेत्र १, देवेन्द्रबहादुर खत्री(मधु) रूपन्देही–२, तेस्रो लिङ्गीमा नुमा लिम्बू, मोरङ–४, पिङ्की राई, ओखलढुङ्गा १, र विनोद लामा (कोनिका, काभ्रे–१ बाट उम्मेदारवी दिएका छन् ।
यसअघि विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा नेकपा(संयुक्त) ले समानुपातिकमा सुनीलबाबु पन्तलाई सांसद बनाएको थियो । यसपछि प्रतिनिधिसभा सदस्यको लागि संसद्मा पुग्ने समलिङ्गी समुदायका प्रतिनिधि शून्यजस्तै छन् ।