
काठमाडौं, पुस २५ :
निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति मार्फत यस्तो आग्रह गरेका हुन् ।
नाम फिर्ता लिन चाहनेलाई आयोगले यही पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ । नाम फिर्ता लिन चाहनेले आयोगमा स्वयम उपस्थित भएर वा वारेस मार्फत समेत निवेदन दिन सक्नेछन् । कतिपय दलमा उम्मेदवार आफैंले नाम फिर्ता लिन चाहेका छन् भने केही दलमा भने सूची रहेकालाई हटाउन दबाब दिइएको छ ।
फागुन २१मा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची पठाएका थिए ।