काठमाडौं, पुस २२ :

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न विभिन्न समिति गठन गरेको जनाएको छ । विशेष महाधिवेशन पक्षधरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन व्यवस्थित गर्नका लागि बिभिन्न १८ वटा समिति गठन गरिएको जनाएको हो । 

राजनीतिकदेखि बिभिन्न तयारी समिति गठन गरिएको विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु शिवाकोटीले जानकारी दिए । उनले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको र आवासको सुविधा प्रदान गरिएको बताए । 

विशेष महाधिवेशनमा आउन चाहने प्रतिनिधिहरुलाई अवरोधको प्रयास भएको उनले बताए । उनले विधान अनुसार नै विशेष महाधिवेशन हुन लागेको भन्दै यसमा समर्थन गर्न आग्रह गरे । 

उनले बुधबारदेखि भृकुटीमण्डपमा डेक्स नै स्थापना गरेर काम सुरु गर्ने उल्लेख गरे । भृकुटीमण्डपको शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आग्रह गरिएको छ ।  शिवाकोटीले पार्टी कार्यालयमा विशेष महाधिवेशनको माग गर्दै भएका प्रदर्शन स्वभाविक भएको बताए।