वीरगन्ज, पुस २२ :

जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिको दोश्रो पटक समय थपेर आज साँझ ६ सम्म पुर्‍याएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले मङ्गलबार दिउँसो एक सूचना जारी गर्दै पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेटलाई चारकिल्ला तोकी जारी गरिएको कर्फ्यु आदेश पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै साँझ ६ बजेसम्म निरन्तरता दिइएको उल्लेख गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले दिउँसो १ बजेसम्मका लागि थप गरेको थियो । दुई समूहबिच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सोमबारदेखि कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला , जुलुश, प्रदर्शन , सभा , बैठक , घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी भएको सूचनामा उल्लेख छ।

कर्फ्युका बेलामा सुरक्षकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाट ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी निस्किन सुचनामा भनिएको छ।

त्यस्तैगरी कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।