
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग चर्किँदै गएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै अब पार्टीसँग विशेष महाधिवेशनबाहेक अर्को विकल्प नरहेको बताएका छन्।
आज पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन पक्षका नेता सुवाष पोखरेलले विशेष महाधिवेशन ऐच्छिक नभई बाध्यकारी भएको दाबी गरे।‘केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको पक्षमा निर्णय गरोस्,’ उनले भने, ‘५४.८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेकाले विशेष महाधिवेशन बोलाउनै पर्छ।’ पार्टीको एकता जोगाउन र नयाँ ढंगले अघि बढ्न विशेष महाधिवेशन आवश्यक भएको उनको भनाइ थियो।
यस्तै नेता देवराज चालिसेले विधानअनुसार आएको बहुमतको माग अस्वीकार गर्ने अधिकार कसैलाई नरहेको बताए। ‘५४.५८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन्। यसलाई नमान्ने सुविधा कसैलाई छैन,’ उनले भने।
उनले सभापति शेरबहादुर देउवाले पनि पार्टी विधान महाधिवेशन नगरी कांग्रेस कमजोर भएको हेर्न नचाहने विश्वास व्यक्त गरे। विशेष महाधिवेशनको माग सम्बोधन गर्नु केन्द्रीय समितिको बाध्यकारी दायित्व भएको चालिसेको भनाइ थियो।
पत्रकार सम्मेलनमा कांग्रेसभित्र केही स्वार्थ समूह नेतृत्वमा रहिरहने आकांक्षाका कारण नियमित महाधिवेशन हुन नसकेको आरोपसमेत लगाइएको छ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेपछि विशेष महाधिवेशन पक्षधर सक्रिय भएका हुन्। सोही विषयमा छलफल गर्न कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।