
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।
कार्यक्रममा लिङ्देन र थापाले एकीकरणसम्बन्धी ६ बुँदे आधारपत्रमा हस्तक्षर गरेका थिए । एकीकरणसम्बन्धी आधारपत्रमा पूर्ण धार्मिक स्वतन्त्रसहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त मार्ग दर्शन हुने उल्लेख छ ।
त्यस्तै राप्रपाका अध्यक्ष लिङ्देन पार्टीको अध्यक्ष रहने, राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरुलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ । एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका अग्रजहरु आएसंगै अब पार्टी थप बलियो हुने बताए । उनले कमल थापा नहुँदाको राप्रपा सदैव अपूर्णजस्तो लाग्ने गरेको भन्दै अब मनमा रहेको एक प्रकारको रिक्तता हटेर गएको उल्लेख गरे ।
पार्टी एक्लैले नभई सबै मिलेर चलाउने भएकाले राप्रपा नेपालबाट आएका कुनै पनि सदस्यहरुले अन्यथा लिन नहुने उनले बताए । लिङ्देनले सिद्धान्त र बिचार स्पष्ट नभइ केही नयाँ भनिने दलहरुले एकताका नाममा प्रधानमन्त्री पदको दलाली गरेको टिप्पणी गरे । पुराना दलहरुलाई समेत जनताले विश्वास नगरेको अवस्थामा विचारमा स्पष्ट र बिचलित पार्टी राप्रपा बाहेक अरु कोही नरहेको उनको भनाइ छ ।