काठमाडौं, मंसिर २८ :

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विधान पुनः संशोधन गर्दै पदाधिकारी संख्या बढाएर १९ पुर्‍याएको छ। ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको विधान संशोधन पारित गरेको हो।

संशोधित विधानअनुसार अब पार्टीमा वरिष्ठ उपाध्यक्ष पद पुनः कायम गरिएको छ। साथै उपाध्यक्ष ६ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ७ जना रहने व्यवस्था गरिएको छ।

यसअघि गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झार्ने निर्णय गरेको थियो। सोही क्रममा वरिष्ठ उपाध्यक्ष पद नै हटाइएको थियो। तर विधान महाधिवेशनलगत्तै तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि पार्टीभित्र शक्ति सन्तुलन फेरिएको थियो।

पोखरेलको सम्भावित विद्रोहलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले आफ्नै समूहका नेताहरूको व्यवस्थापन सहज बनाउन विधान संशोधनको प्रस्ताव ल्याएको नेताहरूको बुझाइ छ। ओली पक्षले ‘जेन–जी आन्दोलन’ र संगठन विस्तारको आवश्यकता देखाउँदै विधान संशोधनलाई औचित्यपूर्ण ठहर गरेको छ।

पार्टी विधानमा भएको यस पुनः संशोधनले एमालेको आगामी नेतृत्व चयन र आन्तरिक शक्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।